सामाजिक सञ्जालमा महासंघभित्रको विवाद सार्वजनिक, अध्यक्ष सराफ र महासचिव बज्राचार्यबीच स्पष्टीकरण आदान–प्रदान
काठमाडौं, १० असार । नेपाल सुनचाँदी व्यवसायी महासंघभित्र देखिएको आन्तरिक विवाद पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसको विषय बनेको छ। बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सराफ र महासंघका केन्द्रीय महासचिव किरणभाई बज्राचार्यबीच स्पष्टीकरण पत्र आदान–प्रदान भएपछि उक्त विषय सुनचाँदी व्यवसायी वृत्तमा चर्चाको केन्द्र बनेको हो।
केही समययता सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा महासंघको गतिविधि, नेतृत्व र संस्थागत विषयमा टिप्पणी गर्दै आएका अध्यक्ष सराफलाई महासंघले लिखित स्पष्टीकरण सोधेको थियो। महासचिव किरणभाई बज्राचार्यद्वारा जारी पत्रमा सराफले फेसबुक पेज तथा विभिन्न सार्वजनिक मञ्चमार्फत महासंघविरुद्ध अभिव्यक्ति दिएको, जिल्लामा रहेको आपसी सद्भावमा असर पुर्याएको तथा महासंघको उद्देश्यविपरीत गतिविधि गरेको आरोप लगाइएको थियो।
महासंघले आफ्नो विधानको दफा ७१/७६ अनुसार सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सराफलाई निर्देशन दिएको थियो।
यसको प्रतिउत्तरमा अध्यक्ष सराफले आफूले व्यक्त गरेका विचार कुनै व्यक्ति वा संस्थाको मानमर्दन गर्ने उद्देश्यले नभई व्यवसायीहरूको हकहित, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा उठाएको बताएका छन्। उनले आफ्नो अभिव्यक्ति संविधानले प्रदान गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारभित्र रहेको दाबी गरेका छन्।
सराफले महासंघको अहित हुने कुनै गतिविधि आफूबाट नभएको स्पष्ट पार्दै व्यवसायीहरूको गुनासो, अपेक्षा र सरोकारका विषय उठाउनु जिम्मेवार सदस्यको कर्तव्य भएको उल्लेख गरेका छन्। उनले महासंघ कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभई सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको साझा संस्था भएकाले संस्थाभित्र देखिएका कमजोरी र अपारदर्शितामाथि प्रश्न उठाउनु संगठनलाई सुधारतर्फ लैजाने सकारात्मक प्रयास भएको जिकिर गरेका छन्।
उनले स्पष्टीकरण पत्रमा आफूविरुद्ध लगाइएका आरोपको आधार, प्रमाण तथा संस्थालाई पुगेको भनिएको क्षतिको स्पष्ट विवरण उल्लेख नगरिएको भन्दै प्राकृतिक न्यायको सिद्धान्तअनुसार आरोप प्रमाणित हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
साथै, फरक विचारलाई दबाउने अभ्यासले संस्था कमजोर बन्ने उल्लेख गर्दै आलोचना र सुझावलाई स्वीकार गर्ने संस्कृतिले मात्र लोकतान्त्रिक संस्थालाई बलियो बनाउने बताएका छन्।
महासंघ र जिल्ला नेतृत्वबीच देखिएको यो विवाद आगामी दिनमा कसरी समाधान हुन्छ भन्ने विषयलाई सुनचाँदी व्यवसायीहरूले चासोका साथ हेरेका छन्। हालसम्म महासंघले सराफको स्पष्टीकरणमाथि कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन।
सुनचाँदी महासंघमा महासचिव बज्राचार्य र अध्यक्ष सराफबीच स्पष्टीकरण आदान–प्रदान
What's Your Reaction?





