चोरीको पैसाले घर, जग्गा र हाइलक्ससम्म : काठमाडौंमा पक्राउ परेका प्रेम थारूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा

 0  15
चोरीको पैसाले घर, जग्गा र हाइलक्ससम्म : काठमाडौंमा पक्राउ परेका प्रेम थारूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा

१२ जेठ, काठमाडौं । काठमाडौंमा पक्राउ परेका एक जना कथित चोरले चोरीबाट कमाएको रकमकै भरमा घर, जग्गा र महँगो गाडीसमेत जोडेका तथ्य खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बाँकेका ४१ वर्षीय प्रेम थारू लाई पक्राउ गरेपछि सार्वजनिक भएको प्रारम्भिक विवरणले उनको आपराधिक गतिविधि केवल चोरीमै सीमित नरहेको संकेत दिएको छ।

प्रहरीले थारूमाथि चोरी सँगै सम्पत्ति शुद्धीकरण को कसुरमा पनि मुद्दा दर्ता गरेको छ। प्रहरीको आरोप अनुसार उनले गत माघ २० गते दिउँसो मात्रै १ करोड २१ लाख ६ हजार ८ सय रुपैयाँ बराबरका गरगहना चोरी गरेका थिए। उनलाई प्रहरीले नागार्जुनको रामकोट क्षेत्रबाट गोली चलाएर नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा प्रेमले लामो समयदेखि काठमाडौंका घरहरूमा कोही नभएको मौका छोपेर चोरी गर्दै आएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। उनले चोरी गरेका गरगहना तथा बहुमूल्य सामग्रीहरू भारतसँग जोडिएका सीमानाकाहरूमा लगेर बेच्ने गरेको खुलेको छ।

चोरीबाट आर्जित रकमको प्रयोगबारे पनि चकित पार्ने विवरण बाहिर आएको छ। प्रेमले सोही रकमबाट बाँकेको कोहलपुरमा करिब ४० लाख रुपैयाँमा २ कठ्ठा जग्गा किनेर घर निर्माण गरेको बताएका छन्। त्यति मात्र होइन, उनले करिब साढे ५ वर्षअघि ९८ लाख रुपैयाँमा टोयोटा हाइलक्स गाडी किनेको पनि स्वीकारेका छन्।

प्रहरीका अनुसार प्रेमको नाममा बाँकेका विभिन्न स्थानमा थप जग्गाजमिन समेत भेटिएको छ। उनले केही सम्पत्ति पूर्ख्यौली भएको दाबी गरे पनि त्यसबाहेकका धेरै सम्पत्ति चोरीकै पैसाबाट जोडिएको बयान दिएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow