जानकी मन्दिर प्रवेशमा विवाद, हर्क साम्पाङ दर्शन नगरी फर्किए
०५ श्रावन -जनकपुरधाम। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आइतबार जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा दर्शन गर्न पुग्दा विरोध र तनावको स्थिति सिर्जना भएको छ। मन्दिर परिसरमा उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच भनाभन तथा धकेलाधकेल भएपछि साम्पाङले मन्दिर प्रवेश नगरी नै फर्किनुपरेको हो।
जानकारीअनुसार, साम्पाङ आइतबार बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुगेका थिए। तर उनी मन्दिर प्रवेश गर्नुअघि नै मन्दिर परिसरमा दुई पक्षबीच विवाद सुरु भएपछि स्थिति तनावपूर्ण बनेको थियो।
यसअघि नै हिन्दू सम्राट सेनाले साम्पाङमाथि क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो। सोही कारण सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मन्दिर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सम्भावित झडप रोक्न र सार्वजनिक सुरक्षा कायम राख्न प्रहरीले साम्पाङलाई मन्दिर प्रवेश नगर्न आग्रह गरेको थियो। विवाद बढ्न थालेपछि दुवै पक्षलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाइएको प्रहरीले जनाएको छ।
मन्दिर दर्शन गर्न नपाएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले जनकपुरमा तनावको अवस्था सिर्जना हुँदा पनि गृहमन्त्रीसँग सम्पर्क हुन नसकेको भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।
What's Your Reaction?





