डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्ने देउवाको ईच्छा
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिमपटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन् ।
२०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका देउवाले यसपटकको निर्वाचनमा पनि डडेल्धुराबाट नै उम्मेदवारी दिने बताएका हुन् । डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि पार्टी संगठनले सर्वसम्मत सिफारिस गरिने जानकारी दिए।
मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिमपटक चुनावमा उठ्ने जानकारी गराएको बताए । अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए ।
सभापतिलाई भेटेका ती नेताले भने, ‘साथीहरुले तपाईं नै उठ्नुपर्यो भनेका छन् । म उठ्छु भन्नुभएको छ ।’
What's Your Reaction?





