तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, फूल उत्पादक किसानले यी स्थानबाट बिक्री गर्न पाउने
काठमाडौं, १७ कात्तिक । काठमाडौं महानगरपालिकाले तिहारका लागि महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामाग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
तिहारमा स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्ने उद्देश्यले महानगरले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूलमाला तथा सजावटका सामाग्री बिक्री गरेको पाइएमा ती सामग्री जफत गरिने चेतावनी समेत दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला र सजावटका सामग्रीको कारोबार नगर्न आग्रह गरेको छ।
सरोकारवाला निकायसँगको समन्वयमा महानगरले विभिन्न क्षेत्रका मल, व्यापारिक भवन, चौर तथा खुला स्थानमा फूल तथा माला बिक्री गर्ने व्यवस्था समेत मिलाएको छ।
महानगरले बानेश्वर तथा शंखमूल क्षेत्रमा एनबी सेन्टर, आइप्लेक्स मल, सेल्सबेरी, बिग मार्ट शंखमूल,चाबहिल तथा सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रमा,कालिमाटी, कलंकी तथा स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्कमा, गोङ्गबु, माछापोखरी तथा नयाँ बजार क्षेत्रमा माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्टमा स्वदेशी फूल तथा माला बिक्री गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस्तै हाँडीगाउँ, महाराजगञ्ज तथा बालुवाटार क्षेत्रमा हाँडीगाउँको वडा नम्बर ५ अगाडिको डबली, गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्टमा, सुन्धारास्थित काठमाडौं मल, भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगरस्थित भाटभटेनी र न्युप्लाजा क्षेत्रमा र बत्तीसपुतलीस्थित फोनेक्स टावर, तीनकुने चौर र कोटेश्वर स्मार्टमा समेत फूल बिक्रीको व्यवस्था मिलाइएको महानगरले जनाएको छ।
What's Your Reaction?





