न्यून ब्याजमा युवालाई लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको छ : उद्योगमन्त्री भण्डारी
चितवन, २७ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग व्यवसायमा छिटोछरितो सुशासनको अनुभूति दिने गरी काम भईरहेको बताएका छन् । बिहीबार नारायणगढमा चितवन महोत्सव–२०८१ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नवीनतम सोचका साथ न्यून ब्याजमा युवालाई लगानीको वातावरण तयार गराउन सरकारले पहल सुरु गरेको जानकारी दिएका हुन् ।
आन्तरिक लगानी बढाउन उद्योग व्यवसायको संरक्षण गर्ने र ब्याजमा सुविधा दिनुपर्ने धारणा राखेका मन्त्री भण्डारीले त्यसका लागि आन्तरिक र बाह्य लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
“युवालाई न्यून ब्याजमा लगानीको वातावरण गराउन सरकारले पहल सुरु गरेको छ,” मन्त्री भण्डारीले भने, “नवीनतम सोचका साथ न्यून ब्याजमा युवालाई लगानीको वातावरण तयार गर्नु पर्छ भनेर सरकारले आफ्नो काम अगाडि बढाएको हो, आर्थिक ऐन संशोधन गरेरै भए पनि आन्तरिक र बाह्य लगानीका बाधक ऐन संशोधन गरेर हामी अगाडि बढ्दै छौँ ।”
२०५३ सालबाट सुरु गरिएको चितवन महोत्सवको यो वर्ष १५औँ शृङ्खला हो । हरेक दुई/दुई वर्षमा आयोजना हुने महोत्सवमा यसवर्ष केराको थामबाट रेसा निकाल्ने कामको प्रत्यक्ष अवलोकन गराइएको छ । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
What's Your Reaction?