सुपथ मुल्य पसल भदौ ३० गतेदेखि संचालन हुने

काठमाडौं, १७ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाँडपर्व लक्षित सहुलियत मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ८ भदौको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् ।
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो ५रुपैयाँ, चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ, खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइने जनाइएको छ ।
कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो १० रुपैयाँ, जिरा, धनिया, चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाँडपर्व अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा र साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
उपत्यकाबाहेक विभिन्न जिल्लामा साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउनेछ ।
What's Your Reaction?






