प्रधानमन्त्री शाह र रवि लामिछानेबीच करिब चार घण्टा छलफल, यी विषयमा केन्द्रित रह्यो भेटवार्ता

 0  10
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच करिब चार घण्टा छलफल, यी विषयमा केन्द्रित रह्यो भेटवार्ता

काठमाडौं, २९ असार — प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान ११ बजे बुढानिलकण्ठस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवासमा पुगेर करिब चार घण्टा लामो भेटवार्ता गरेका छन्। भेटमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव कुमार बेन तथा सचिवालय सदस्य सुवास शर्मा र विवेक मिश्र पनि सहभागी थिए।

स्रोतका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक तथा जनसरोकारका विभिन्न विषयमा छलफल भएको थियो। विशेषगरी सुकुम्बासी व्यवस्थापन, गणेश नेपालीको आत्मदाहको घटना, जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा जेनजी परिषद् गठनका विषय प्रमुख रूपमा उठेका थिए।

छलफलका क्रममा सभापति लामिछानेले सुकुम्बासी व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए। वास्तविक पीडित नागरिकको भावना बुझेर सम्मानजनक ढंगले समस्या समाधान गर्नुपर्ने र सुकुम्बासीलाई यथाशीघ्र जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउनुपर्ने उनको सुझाव रहेको स्रोतले जनाएको छ। यसबाट देशभर रहेका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानप्रति सरकार गम्भीर रहेको सन्देश जाने उनको विश्वास थियो।

जवाफमा प्रधानमन्त्री शाहले सरकारले सुकुम्बासी व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको र समस्या समाधानतर्फ काम अघि बढिसकेको बताएका थिए।

भेटका क्रममा गणेश नेपालीको आत्मदाहको घटनाबारे पनि छलफल भएको थियो। लामिछानेले उक्त घटनालाई दुःखद दुर्घटनाका रूपमा टिप्पणी गर्दै यसको समाधानका लागि काठमाडौं महानगरपालिका र संघीय सरकारले समन्वय गरेर काम गर्नुपर्ने सुझाव दिएका थिए।

त्यसैगरी, जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका विषयमा पनि कुराकानी भएको थियो। लामिछानेले गम्भीर घाइतेहरूको विदेशमा उपचार गराउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका थिए।

प्रधानमन्त्री शाहले भने विदेशमा उपचार गराउने स्पष्ट कानुनी व्यवस्था हाल नरहेको जानकारी गराएका थिए। त्यसपछि लामिछानेले आवश्यक परे विभिन्न माध्यमबाट सहयोग जुटाएर भए पनि गम्भीर घाइतेहरूको शीघ्र उपचार सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। साथै, जेनजी परिषद् गठनको प्रक्रिया पनि यथाशीघ्र अघि बढाउन उनले सुझाव दिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow