बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्न मञ्चको माग
काठमाडौं, १८ साउन । उपभोक्ता मञ्चले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, सञ्चितीकरण गर्ने र बढी मूल्यमा बिक्री गर्ने बिचौलिया तथा व्यापारीमाथि कडा कारबाही गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि, नाफाखोरी र कालोबजारी नियन्त्रण गर्न तत्काल संयुक्त र प्रभावकारी अनुगमन टोली परिचालन गर्न सरकारसँग माग गरेको छ। सोमबार उपभोक्ता मञ्चका प्रवक्ता उज्वलराज गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट ग्यास आयात तथा ढुवानी तथा आपूर्ति सहज ढंगबाट भइराख्दा पनि खाना पकाउने ग्यासको सहज उपलब्धता ठप्प हुनु र सर्वसाधारण नागरिकहरू घण्टौँ लाइनमा बस्न बाध्य हुनुले बजारमा ग्यासको कृत्रिम अभाव र कालाबजारी मौलाएको भन्ने मञ्चको ठहर छ ।
यससँगै चाडपर्व नजिकिँदै गर्दा तथा विपद्का बेला बजारमा चरम महंगी र अभाव सिर्जना हुनु, नियमनकारी सरकारी निकायहरू मूकदर्शक बन्नु अत्यन्तै दुःखद र गैरजिम्मेवारपूर्ण विषय भएको मञ्चले जनाएको छ।
यदि सरकारले आम उपभोक्ताको चुलो र जीवनस्तरसँग जोडिएका यी संवेदनशील विषयमा अविलम्ब कदम नचालेमा मञ्च उपभोक्ताको हकहित रक्षाका लागि सशक्त विरोधका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत मञ्चले दिएको छ।
What's Your Reaction?





