बजेटले सुनचाँदी क्षेत्रलाई अवसरसँगै चुनौती पनि थपेको निष्कर्ष

 0  35
बजेटले सुनचाँदी क्षेत्रलाई अवसरसँगै चुनौती पनि थपेको निष्कर्ष

२७ जेठ, काठमाडौं। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले २६ जेठमा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा त्यसले सुनचाँदी व्यवसायमा पार्ने प्रभावबारे एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बजेटसम्बन्धी प्रशिक्षण महेश पोखरेलले दिएका थिए भने सुनचाँदी क्षेत्रसँग सम्बन्धित कानुनी पक्षबारे कानुनी सल्लाहकार तारा अर्यालले जानकारी गराएका थिए।

प्रशिक्षणका क्रममा नयाँ बजेटले सुनचाँदी क्षेत्रका लागि केही सुधार र अवसर सिर्जना गरे पनि अझै धेरै विषयमा निरन्तर पहल र सुधार आवश्यक रहेको औंल्याइएको थियो। यसअघि विलासिता कर शीर्षकमा २ प्रतिशत कर तिर्दै आएका व्यवसायीले अब ०.५० प्रतिशत ‘सीप प्रवर्द्धन कर’ तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिइयो। उक्त करको प्रकृति पुरानै करसरह रहेको र व्यवसायीले प्रत्येक महिनाको २५ गतेभित्र बुझाउनुपर्ने बताइएको छ।

त्यस्तै, सुनमा लाग्दै आएको १० प्रतिशत करलाई बढाएर २० प्रतिशत पुर्‍याइएको तथा सीप प्रवर्द्धन करको उद्देश्य कच्चा पदार्थको स्रोत ट्र्याकिङ र व्यवस्थापनसँग जोडिएको हुन सक्ने विश्लेषण प्रस्तुत गरिएको थियो। साथै, यसअघि कर नलाग्ने चाँदीमा पनि २० प्रतिशत कर तथा ०.५० प्रतिशत सीप प्रवर्द्धन कर लाग्ने व्यवस्था गरिएको जानकारी गराइयो। यी करसम्बन्धी व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने बताइएको छ।

कार्यक्रममा कानुनी सल्लाहकार अर्यालले महासंघलाई थप सशक्त, विश्वसनीय र प्रभावकारी संस्थाका रूपमा विकास गर्न सम्पूर्ण व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिँदै सुनचाँदी व्यवसायसँग सम्बन्धित विभिन्न कानुनी पक्षबारे प्रकाश पारे।

अन्तरक्रियाका क्रममा सुनचाँदी व्यवसायीबीच धितो तथा बन्दकसम्बन्धी कारोबार जटिल बन्दै गएको विषयमा पनि छलफल भएको थियो। पछिल्लो समय सुनको मूल्यमा आएको तीव्र वृद्धिका कारण लामो समयदेखि सम्पर्कविहीन रहेका ग्राहकहरू पुराना सामान फिर्ता लिन आउने क्रम बढेको र त्यसले व्यवसायीहरूलाई कानुनी तथा प्रशासनिक चुनौती थपिएको सहभागीहरूले बताएका थिए।

व्यवसायीहरूले यस्तो कारोबारलाई स्पष्ट नीति, नियम र कानुनी आधारमा व्यवस्थित गरी औपचारिक तथा वैधानिक कारोबारको दायरामा ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता गर्दै महासंघका अध्यक्ष किसन सुनारले बजेटमार्फत प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै थप अधिकार र सुविधा प्राप्तिका लागि संगठित रूपमा अघि बढ्नुपर्ने बताए। महासंघप्रति हुने अविश्वास तथा नकारात्मक प्रचारप्रसारले समग्र सुनचाँदी व्यवसायलाई नै असर गर्ने भएकाले सबै व्यवसायी एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव केशर सेञ्चुरी, उपत्यकाभित्रका विभिन्न पदाधिकारी, संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

महासंघका प्रथम उपाध्यक्ष द्वारिका शंकरले कार्यक्रमको समापन गरेका थिए भने सञ्चालन महासचिव विमल धमलाले गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow