बहुमूल्य वस्तुको प्रलोभन देखाएर ठगी गर्ने आरोपमा ६ जना पक्राउ

 0  29
बहुमूल्य वस्तुको प्रलोभन देखाएर ठगी गर्ने आरोपमा  ६ जना पक्राउ

पोखरा, २९ असार — कास्कीको पोखरा महानगरपालिका–२६, कालीकाचोक क्षेत्रमा बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरू भाडामा बस्दै आएको डेरा तथा उनीहरूको शरीर खानतलासी गर्दा सेतो टल्किने क्रिस्टलजस्तो लाम्चो देखिने वस्तु एक थान, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लम्बाइको केबलसहितको चार्जर एक थान तथा ६ थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा पर्वतको फलेवास नगरपालिका–५ निवासी ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक तथा ६९ वर्षीया खगिसरा कामी (बाटुली) रहेका छन्।

त्यसैगरी, म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–२६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२७ अर्चले बस्दै आएका २९ वर्षीय दीपक गोतामे तथा कास्कीको पोखरा महानगरपालिका–२१, निर्मलपोखरी घर भई हाल पोखरा महानगरपालिका–५, मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मा पनि पक्राउ परेका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

स्रोत : नेपाल प्रहरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow