भारतद्वारा एलपीजीमा लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौं, १२ असार । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ ।
इरान र अमेरिकाबिच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएसँगै भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो ।
पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर–घरेलु प्याक गरिएको एलपिजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपिजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ ।
विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपिजीको दोस्रो ठूलो आयातकर्ता हो । भारतमा प्रयोग हुने अधिकांश एलपिजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो । विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो ।
What's Your Reaction?





