भारतमा ‘कक्रोच जनता पार्टी’ले शनिबारदेखि आन्दोलन गर्ने घोषणा
१८ जेठ, नयाँ दिल्ली। भारतमा कक्रोच जनता पार्टीले शनिबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। पार्टीका प्रमुख अभिजित दिपके शनिबार अमेरिकाबाट भारत फर्किने र त्यसपछि आन्दोलनलाई नेतृत्व गर्ने बताइएको छ।
पार्टीले केही दिनअघि भएको एमबीबीएस परीक्षाको प्रश्नपत्र सार्वजनिक भएको प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ। सोही मागसहित दिल्लीस्थित जन्तरमन्तरमा धर्ना कार्यक्रम सुरु गर्न लागिएको पार्टी प्रमुख दिपकेले बताएका छन्।
दिपकेको घोषणापछि आन्दोलन चर्किन सक्ने आशंकामा भारतका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। विशेषगरी राजधानी नयाँ दिल्ली र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी परिचालनमा कडाइ गरिएको जनाइएको छ।
पार्टीले परीक्षा प्रणालीमा देखिएको कमजोरी, विद्यार्थीको भविष्यमाथि भएको खेलबाड र सम्बन्धित निकायको गैरजिम्मेवारीविरुद्ध आन्दोलन गर्न लागेको दाबी गरेको छ। आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि प्रशासनले सम्भावित तनावलाई मध्यनजर गर्दै निगरानी बढाएको बताइएको छ।
What's Your Reaction?





