मञ्च १०औँ वर्षमा प्रवेश, स्थापना दिवसको अवसरमा समीक्षा तथा जलपान कार्यक्रम आयोजना
२९ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले आफ्नो सफल कार्यकाल पूरा गर्दै आजदेखि १०औँ वर्षमा प्रवेश गरेको छ। स्थापना कालदेखि विभिन्न आरोह–अवरोधहरू पार गर्दै आएको मञ्चले नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाउँदैछ।
स्थापना दिवसको अवसरमा मञ्चले आफ्नो केन्द्रीय कार्यालयमा संस्थागत समीक्षा तथा जलपान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा संस्थाका पूर्व पदाधिकारी तथा वर्तमान कार्यसमितिका सदस्यहरूको सहभागिता रहनेछ।
त्यसैगरी, मञ्चको १०औँ स्थापना दिवसको अवसरमा आगामी जेठ ३० गते शनिबार ललितपुर महानगरपालिका–१४, नखिपोटस्थित फुटसल भिलेजमा अन्तरसंघ–संस्था स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा सुनचाँदी क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
मञ्चको स्थापना आजभन्दा नौ वर्षअघि, २०७३ जेठ २९ गते विधिवत् रूपमा भएको थियो। संस्थापक अध्यक्ष गणेशप्रसाद लाकान्द्रीको नेतृत्वमा स्थापना भएको मञ्चले सुनचाँदी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता तथा यस क्षेत्रको विकासका लागि निरन्तर कार्य गर्दै आएको जनाएको छ।
संस्थाका निवर्तमान अध्यक्ष डम्बर बराइलीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि हाल मञ्चको नेतृत्व खेम तिरुवाले सम्हालिरहेका छन्। वर्तमान कार्यसमितिले संस्थालाई थप सुदृढ, व्यवस्थित तथा व्यवसायीहरूको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।
मञ्चले स्थापना दिवसको अवसरमा सम्पूर्ण सुनचाँदी व्यवसायी, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि व्यवसायिक हित, व्यवसायीहरूको एकता तथा सुनचाँदी क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहने जनाएको छ।
What's Your Reaction?





