मेलम्चीको पानी स्थानीयले नपाए काठमाडौंतर्फको आपूर्ति ठप्प पार्ने सांसद् पाण्डेको चेतावनी

 0  16
मेलम्चीको पानी स्थानीयले नपाए काठमाडौंतर्फको आपूर्ति ठप्प पार्ने सांसद् पाण्डेको चेतावनी

काठमाडौं, २४ असार । रास्वपा सांसद् राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा पानी नपाए काकाकुल हुनु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै सांसद् पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वरका बासिन्दाले पानी उपभोग गर्न नपाएको भन्दै खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकहरूको मिलोमतो रहेको आरोप लगाएका छन् । पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् ।

कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीपनले जनतामा चरम असन्तुष्टि बढेको भन्दै उनले तत्काल स्थलगत अनुगमन गरी समस्या समाधान गर्न माग गरे । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजनाका इन्जिनियर तथा कर्मचारीहरूलाई कार्यशैली सुधार्न आग्रह गर्दै आफ्नो निर्वाचन क्षेत्रका जनताको पीडालाई सरकारले नजरअन्दाज गरेमा पाइप फुटाउने वा मुहानमै अवरोध गर्ने जस्ता कडा कदम चाल्न आफू पछि नहट्ने चेतावनी दिए ।

कर्मचारीहरूले आफ्नो मनलाग्दो ढंगले केही टोलमा पानी छोड्ने र केहीमा नछोड्ने गरेको भन्दै उनले संयन्त्रको लापरबाहीप्रति आपत्ति जनाए । उनले भने, ‘ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ वडाका बासिन्दा पानी नपाएर तड्पिरहेका छन्। मुहान क्षेत्रका बासिन्दाले पानी खान नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाउने कार्य अब सह्य हुँदैन । यदि स्थानीयको समस्या तत्काल सम्बोधन नभए हामी ड्याम नै बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ । म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन, यदि गोकर्णका जनताले पानी पाउँदैनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow