यस वर्षको दशैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला

 0  14
यस वर्षको दशैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं, २० असोज । यस वर्षको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरूको बैठकले नजिकिँदै गरेको बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने,  टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेलगायतका निर्णयहरू पनि गरेको छ।

चाँडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने र टिकटमा अनियमितता गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ।

बैठकका सहभागीहरूले बसपार्क र टिकट काउन्टरहरूमा हुने यात्रुको अत्यधिक चापलाई व्यवस्थित गर्न र टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने बाध्यता हटाउन सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गरिनुपर्नेमा जोड दिएका थिए । 

यस वर्षको दशैँ अवधिमा करिब १० लाखभन्दा बढी यात्रुले काठमाडौं छाड्ने अनुमान गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow