रिटर्नी फेडेरेशन नेपालको बाढी प्रभावित क्षेत्रमा श्रमदान

 0  116
रिटर्नी फेडेरेशन नेपालको बाढी प्रभावित क्षेत्रमा श्रमदान

१७ भदौ, धादिङ । रिटर्नी फेडेरेशन नेपालले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिँदै धादिङ जिल्लाको गल्छी क्षेत्रमा श्रमदान अभियान सञ्चालन गरेको छ।

बाढीका कारण प्रभावित भएका घर, विद्यालय तथा सरकारी कार्यालयहरूमा थुप्रिएको बालुवा, माटो तथा अन्य फोहोर हटाउने र सरसफाइ गर्ने कार्यमा फेडेरेशनका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा सहभागी भएका छन्। बाढीपछि प्रभावित संरचनाहरूमा ठूलो मात्रामा बालुवा, माटो तथा फोहोर जम्मा भएकाले स्थानीय जनजीवन प्रभावित बनेको अवस्थामा फेडेरेशनले श्रमदानमार्फत सहयोग गरेको हो।

केन्द्रीय कार्यालयबाट गएको करिब २० जनाको टोलीले गल्छी क्षेत्रमा पुगेर प्रभावित घर, विद्यालय तथा सरकारी कार्यालय परिसरको सरसफाइ गर्नुका साथै बाढीले ल्याएको बालुवा तथा माटो हटाउने कार्य गरेको थियो।

श्रमदान कार्यक्रममा रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय अध्यक्ष बिनोद भट्टराई, उपाध्यक्ष शान्ति लामा, जितेन्द्र बानियाँ, महासचिव खेम कार्की लगायतका केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो। त्यसैगरी बागमती प्रदेश कमिटीका अध्यक्ष एकराज उपाध्याय लगायत प्रदेश तथा स्थानीय तहका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सरसफाइ तथा पुनःस्थापनाका काममा स्थानीयवासीलाई सहयोग पुर्‍याउने उद्देश्यले श्रमदान अभियान सञ्चालन गरिएको फेडेरेशनले जनाएको छ।

श्रमदान अभियान केही दिनसम्म निरन्तर सञ्चालन हुने बागमती प्रदेश कमिटीका अध्यक्ष एकराज उपाध्यायले जानकारी दिए। उनका अनुसार बाढीबाट प्रभावित संरचनाको सरसफाइ तथा पुनःस्थापनामा आवश्यकताअनुसार फेडेरेशनका थप टोलीहरू परिचालन गरिनेछ।

तस्बिर : जितेन्द्र बानियाँको फेसबुक पेज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow