रोनाल्डोले किन लगाएका थिए ‘नेपाल’ लेखिएको जर्सी ?
काठमाडौं । विश्व फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ‘नेपाल’ लेखिएको जर्सी लगाएर मैदानमा उत्रिएको तस्वीर अहिले पुनः सामाजिक सञ्जालमा भाइरल बनेको छ। विश्वकप फुटबलको माहोलसँगै चर्चित खेलाडीहरूका पुराना तस्बिर र प्रेरणादायी घटनाहरू पुनः चर्चामा आउन थालेका छन्। त्यही क्रममा रोनाल्डोले नेपालप्रति देखाएको समर्थनको प्रसंग पनि व्यापक रूपमा साझा भइरहेको छ।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पले हजारौं मानिसको ज्यान लिएको थियो भने लाखौं नागरिक प्रभावित भएका थिए। उक्त विपत्तिपछि नेपाली जनताप्रति ऐक्यबद्धता जनाउन रोनाल्डो तथा उनका तत्कालीन क्लब रियल म्याड्रिड का खेलाडीहरूले ला लिगाको एक खेलअघि “Todos con Nepal” (सबै नेपालको साथमा) लेखिएको जर्सी लगाएर मैदान प्रवेश गरेका थिए।
उक्त अभियानको उद्देश्य विश्व समुदायको ध्यान नेपालतर्फ आकर्षित गर्नु र भूकम्पपीडितका लागि सहयोग जुटाउन प्रेरित गर्नु थियो। रियल म्याड्रिडका खेलाडीहरूले देखाएको यो समर्थनले नेपालप्रति अन्तर्राष्ट्रिय सहानुभूति र सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
रोनाल्डोले त्यतिबेला सामाजिक सञ्जालमार्फत पनि नेपालप्रति समर्थन व्यक्त गरेका थिए। उनले नेपाल र पोर्चुगलको झण्डासहितको तस्वीर सार्वजनिक गर्दै नेपाली जनतालाई हौसला दिने सन्देश दिएका थिए।
भूकम्पपछि रोनाल्डोको नाम नेपालसँग जोडिएर व्यापक चर्चामा आएको थियो। उनले नेपालका एक भूकम्पपीडित बालकलाई हस्ताक्षर गरिएको रियल म्याड्रिडको जर्सीसमेत पठाएका थिए, जसले विश्वभर सकारात्मक चर्चा बटुलेको थियो।
सन् २०१५ को भूकम्पपछि विश्व खेलकुद क्षेत्रबाट नेपालप्रति देखाइएको सहानुभूति र समर्थनमध्ये रोनाल्डोको “Todos con Nepal” अभियान आज पनि नेपालीहरूले सम्मानका साथ सम्झिने गरेका छन्।
What's Your Reaction?





