वर्तमान सुनचाँदी क्षेत्रमा भइरहेको बजार अनुगमनबारे के भन्छन् सुनचाँदी क्षेत्रका प्रतिनिधिहरू ?
३० बैसाख, काठमाडौं ।
पछिल्लो समय सुनचाँदी बजार पुनः तरंगित बनेको छ । विशेषगरी नेपाल सरकारले सुनचाँदी बजारमा निगरानी तथा अनुगमनलाई कडाइ गरेसँगै व्यवसायीहरूमा चासो बढेको देखिन्छ । विभिन्न सरकारी निकायहरूले बजार अनुगमनलाई तीव्र बनाइरहेका बेला सुनचाँदी क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूले भने आ–आफ्ना धारणा सार्वजनिक गरेका छन् । हामीसँगको टेलिफोन कुराकानीका क्रममा विभिन्न व्यवसायिक संघका अध्यक्षहरूले सरकारको कदमप्रति मिश्रित प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष खेम तिरुवा (नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च)
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवाले हाल भइरहेको अनुगमनलाई व्यवसायीमाथिको कारबाहीभन्दा पनि प्रारम्भिक सचेतनामूलक कदमका रूपमा हेर्नुपर्ने बताए । उनका अनुसार अहिलेको अवस्था हेर्दा व्यवसायीहरूलाई तुरुन्तै दण्डित गर्नेभन्दा पनि व्यवस्थित व्यवसाय सञ्चालनतर्फ सचेत गराउने प्रयास भइरहेको छ । उनले सम्पूर्ण व्यवसायीलाई आफ्नो व्यवसाय चुस्तदुरुस्त राख्न आग्रह गर्दै सुनचाँदी क्षेत्रका व्यवसायी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
तर, उनले सरकारलाई व्यवसायीमैत्री नीति तथा निर्देशिका तयार गर्न आग्रह गरे ।
“पहिला सरकारले स्पष्ट नीति, निर्देशिका र कच्चा पदार्थ सुन सानो परिमाणमा सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ, त्यसपछि मात्रै कडाइका साथ अनुगमन गर्नुपर्छ,” उनले बताए ।
यस्तै, नेपाल राष्ट्रिय कला व्यवसायी संघका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकारको वर्तमान अनुगमनलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । उनले सुनचाँदी क्षेत्रभित्र रहेका विविध समस्या, बेथिति तथा अव्यवस्थित कारोबारलाई न्यूनीकरण गर्न अनुगमन प्रभावकारी बन्न सक्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार यस्तो अनुगमनबाट व्यवसाय क्षेत्र अझ स्वच्छ र स्वस्थ बन्ने अपेक्षा गरिएको छ । यद्यपि, अनुगमन गर्ने क्रममा कुनै पनि व्यवसायीलाई आतंकित बनाउने वा अनावश्यक दबाब दिने कार्य भने हुन नहुने उनको भनाइ छ ।
त्यसैगरी, नेपाल राष्ट्रिय सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष केशव बिकले भने सरकारी तवरबाट भइरहेको अनुगमनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले तत्काल यस्तो अनुगमन रोक्न माग गर्दै सबैभन्दा पहिला सरकारले व्यवसायीहरूका लागि स्पष्ट नीति–निर्देशिका ल्याउनुपर्ने बताए ।
उनका अनुसार व्यवसायीहरूले भोगिरहेका विविध समस्या समाधान नगरी गरिने अनुगमनले व्यवसायीहरूलाई अन्योल र दबाबमा पार्ने काम गरेको छ ।
“व्यवसायीका समस्या समाधान पश्चात गरिने सरकारी अनुगमनलाई पूर्ण रूपमा सहयोग गर्न सकिन्छ,” उनले बताए ।
अध्यक्ष सुबिन बज्राचार्य (ललितपुर सुनचाँदी व्यवसायी संघ)
उता, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले भने हालसम्म ललितपुर क्षेत्रका आफ्ना सदस्य व्यवसायीहरूलाई अनुगमनले खासै असर नपारेको बताएका छन् । उनले सरकारबाट हुने अनुगमनलाई पूर्ण सहयोग रहने स्पष्ट पार्दै अनुगमन प्रक्रिया भने दक्ष र प्राविधिक जनशक्तिको आधारमा हुनुपर्नेमा जोड दिए ।
उनले हचुवाको भरमा गरिने अनुगमनले व्यवसायीमा अन्योल सिर्जना गर्ने भएकाले स्पष्ट मापदण्ड र पूर्ण व्याख्यासहितको प्रक्रिया अपनाउन सरकारलाई आग्रह गरे ।
सुनचाँदी बजारमा सरकारले निगरानी बढाइरहेका बेला व्यवसायीहरू भने व्यवस्थित र पारदर्शी बजार निर्माणका लागि आफूहरू तयार रहेको बताइरहेका छन् । तर, त्यसका लागि स्पष्ट नीति, व्यवसायीमैत्री वातावरण तथा दक्ष अनुगमन प्रणाली आवश्यक रहेको उनीहरूको साझा धारणा देखिएको छ ।
What's Your Reaction?





