सरकारले रोक्यो खाडी मुलुक जाने नेपालीको श्रम स्वीकृति
काठमाडौं, १७ फागुन । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारले हाललाई खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको जानकारी दिएका छन् । बढ्दो तनावबीच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन समेत अनुरोध गरेको छ ।
इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको हो। जसले गर्दा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा चासो बढ्दै गएको छ । सरकारले तनाव बढ्दै गएको खण्डमा नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।
What's Your Reaction?





