मतदानका दिन कुन सवारी चलाउन चाहिन्छ पास ?

 0  25
मतदानका दिन कुन सवारी चलाउन चाहिन्छ पास ?

काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइए पनि निश्चित क्षेत्र र व्यक्तिहरूका लागि सवारी आवागमनमा सहजता प्रदान गर्ने निर्णय गरेको छ ।

फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सवारीसाधन सञ्चालनमा आयोगले लगाएको यो रोक दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा–मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीहरू, दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मत र अस्पताल सेवाका सवारीसाधनहरूका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पताल आउजाउ गर्न प्रयोग गर्ने सवारीसाधनलाई पासको अनिवार्यता गरेको छैन ।

मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन आयोगले हिँडडुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र साथमा बच्चा बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिएको छ । यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारीसाधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन, अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु रहने सन्दर्भमा विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारीसाधनलाई पास नचाहिने यसका साथै क्रियापुत्री बोकेका सवारी र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कुटनीतिक नियोगका सवारीसाधनहरूलाई पनि बिना पास सञ्चालनको अनुमति दिइएको छ ।

आयोगबाट जारी भएको पर्यवेक्षक परिचयपत्र वाहकहरूले तोकिएको स्थानमा प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली र वैधानिक प्रेस पास भएका सञ्चारकर्मीहरूका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने गरी सरकारलाई सिफारिस गरिएको छ । सञ्चारकर्मीहरूको हकमा समाचार सङ्कलनको प्रयोजनका लागि वैधानिक परिचयपत्रका आधारमा यात्रा गर्न सहजीकरण गरिने आयोगको भनाइ छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow