सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ : गृहमन्त्री गुरुङ

 0  3
सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ : गृहमन्त्री गुरुङ

काठमाडौं, ३० असोज । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नागरिकको विश्वास जित्न प्रहरीको काम गर्ने शैली र व्यवहारमा जवाफदेहिता आवश्यक रहेको बताएका हुन् । प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गर्दै उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउनु पर्नेमा जोड दिए।

‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ । प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ, सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन । नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ’ गुरुङले भने ।

उनले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने बताए। ‘प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवा-सुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ,’ उनले भने, ‘आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow