महाशिवरात्रीमा पशुपति क्षेत्रभित्र मासु, मदिरा बिक्री गर्न नपाईने, यस्तो छ महाशिवरात्रिको ट्राफिक व्यवस्थापन

 0  42
महाशिवरात्रीमा पशुपति क्षेत्रभित्र मासु, मदिरा बिक्री गर्न नपाईने, यस्तो छ महाशिवरात्रिको ट्राफिक व्यवस्थापन

काठमाडौं, १२ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वलाई मध्यनजर गर्दै पशुपति क्षेत्रभित्र मासु, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा बिक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ।

कोषले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै यही फागुन १४ गते परेको महाशिवरात्रि पर्वका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरु समेत गठन गरेको छ । कोषका अनुसार फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था गरिनुका साथै नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले जानकारी दिए ।

यसैगरी महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनको सुरक्षा योजना तयार पारेको छ। दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरुको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन्।

त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ। तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिने छ। तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिनसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक ९डिएसपी०को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिने छ भने आवश्यकताअनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow