एमालेभित्र नयाँ समीकरण : ओली–भण्डारी सम्बन्ध किन अचानक नजिकियो?
०४ जेठ | काठमाडौं
नेकपा एमालेभित्र पछिल्लो समय विकसित भइरहेको राजनीतिक घटनाक्रमले पार्टीभित्र नयाँ शक्ति–सन्तुलनको संकेत देखाएको छ। विशेषगरी पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली बीच बढ्दै गएको राजनीतिक संवादलाई लिएर पार्टी वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।
केही महिनाअघिसम्म दूरीमा देखिएका यी दुई नेताबीच अहिले निरन्तर संवाद, भेटघाट र रणनीतिक सहकार्य बढ्न थालेपछि एमालेभित्रको शक्ति समीकरण फेरिन सक्ने विश्लेषण हुन थालेको हो।
गत २८ वैशाखमा गुण्डुस्थित ओली निवासमा भएको लामो छलफललाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। स्रोतका अनुसार उक्त भेटमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, चुनावी समीक्षादेखि वाम एकताको सम्भावनासम्मका विषयमा गम्भीर कुराकानी भएको थियो।
एमालेभित्र दोस्रो तहका केही प्रभावशाली नेताहरूले आफ्नै ढंगले शक्ति केन्द्र निर्माण गर्न थालेपछि ओली नयाँ राजनीतिक ‘सेफ जोन’ खोजिरहेका छन् भन्ने चर्चा पनि चुलिएको छ। यस्तो अवस्थामा पूर्वराष्ट्रपति भण्डारीलाई पुनः सक्रिय भूमिकामा ल्याएर पार्टीभित्र सन्तुलन कायम गर्ने प्रयास भइरहेको आकलन गरिएको छ।
विशेषगरी उपाध्यक्षहरूबीच बढ्दो आन्तरिक प्रतिस्पर्धा र नेतृत्व उत्तराधिकारको बहस तीव्र भइरहेका बेला भण्डारीलाई साझा तथा स्वीकार्य अनुहारका रूपमा अघि सार्ने तयारी भइरहेको बताइन्छ।
राजनीतिक वृत्तमा अर्को चासोको विषय सम्भावित वाम सहकार्य पनि बनेको छ। एमालेभित्रका केही नेताहरूले भण्डारीको सक्रियता वाम शक्तिहरूबीच नयाँ संवादको सेतु बन्न सक्ने विश्वास व्यक्त गर्न थालेका छन्। यही कारण पछिल्ला दिनमा भण्डारीको राजनीतिक गतिविधि असामान्य रूपमा बढेको देखिएको छ।
यद्यपि एमालेका आधिकारिक नेताहरूले भने यसलाई सामान्य राजनीतिक भेटघाट मात्रै भएको दाबी गर्दै आएका छन्। तर पार्टीभित्र भइरहेको सूक्ष्म शक्ति पुनर्संरचनाले आगामी दिनमा एमाले राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने संकेत भने स्पष्ट देखिन थालेको छ।
What's Your Reaction?





