विद्या भण्डारीलाई सम्झाउनुपर्छ, उल्काउनु हुँदैन- ओली
एमाले अध्यक्ष केपी ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भनेका छन् - 'पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिपूर्वक सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरूअरू पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरूलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष निकालेको हो ।
उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नु हुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ ।
तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँसँग निकट भएका साथीहरूले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन ।
What's Your Reaction?





