शंकाकै भरमा भिजिट भिसामा विदेश जाने यात्रुलाई नरोकिने : अध्यागमन विभाग
काठमाडौं, १ भदौ । अध्यागमन विभागले अबदेखि नक्कली कागजात बोकेको शंकाकै भरमा भिजिट भिसामा जानेहरूलाई नरोक्ने भएको छ।
विभागले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान नरोकिने जानकारी दिएको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीले यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा लिन यात्रुहरुलाई अनुरोध गरे।
उनले दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनसमेत आग्रह गरे। उनले फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रस्थान अनुमति नदिइने र नेपाल प्रहरीमार्फत कानूनी कारबाही गरिने चेतावनी समेत दिए।
विभागले अध्यागमन प्रक्रियाको सुधारका लागि यात्रु, वायुसेवा कम्पनी, स्थानीय तह र सञ्चार माध्यम, विदेशस्थित कूटनीतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही कारोबार गर्ने संस्थाहरुलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।
What's Your Reaction?





