आजदेखि चुच्चे नक्सा भएको १०० रुपैयाँको नयाँ नोट बजारमा
काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आजदेखि साविककै आकार र रंगमा १ सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको हो । गत वर्षको दशैँ मा चुच्चे नक्सासहितको नोट प्रचलनमा ल्याउने तयारी रहेता पनि त्यतिबेला नोट चलनचल्तीमा ल्याइएको थिएन । आजबाट भने १०० रुपैयाँ अंकित दरका नयाँ नोट बजारमा आएको हो ।
नयाँ नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा रहेको छ भने बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप छ । यस्तै, नोटको मध्यभागमा अशोकस्तम्भको चित्रका साथै ‘LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA’ लेखिएको छ। अशोकस्तम्भसँगै दृष्टिविहीनलाई नोट पहिचानका निम्ति छामेर थाहा पाउने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र छ ।
दुई मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।
What's Your Reaction?





