एमालेले भीआईपी उपचार खर्चबापत करिब ३ करोड ८६ लाख फिर्ता गर्यो
१२ जेठ, काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा वितरण गरिएको भीआईपी उपचार खर्चबापत राज्यकोषबाट गएको रकम फिर्ता गरेको विवरण सार्वजनिक भएको छ।
समाचार स्रोतहरूका अनुसार एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वराष्ट्रपति डा. रामवरण यादवको विदेश उपचार खर्चबापत राज्यकोषबाट भुक्तानी भएको कुल ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ राज्यकोषमा फिर्ता गरेको हो। उक्त रकम एमालेको खाताबाट एकमुष्ट रूपमा राज्यकोषमा जम्मा गरिएको बताइएको छ।
तर यो रकम फिर्ता भएपछि एमाले पंक्तिभित्रै प्रश्न उठेको छ। पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले लेबी तथा योगदानमार्फत उठाएको पार्टी कोषको रकम निजी उपचार खर्च फिर्तामा प्रयोग गरिएको भन्दै असन्तुष्टि बढेको बताइन्छ। कतिपय कार्यकर्ताले सुरुमै नियमविपरीत सरकारी ढुकुटीबाट रकम किन खर्च गरियो र यदि त्यो रकम कानुनअनुसार नै खर्च गरिएको थियो भने पछि किन फिर्ता गर्नुपर्यो भन्ने प्रश्न उठाएका छन्।
पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा गरेको उपचार खर्च राज्यकोषबाट व्यहोर्ने विषय कानुनविपरीत भएको भन्दै विवाद बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन अघि बढाएको थियो। त्यसपछि एमालेले उक्त रकम राज्यकोषमा फिर्ता गरेको बताइएको छ।
What's Your Reaction?





