काठमाडौंमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन सबैमा अनुरोध

 0  10
काठमाडौंमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन सबैमा अनुरोध

१२ जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई सार्वजनिक अपिल गरेको छ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी, पन्छीको आहारा तथा सम्बन्धित वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्यलाई तीव्र पारिएको जनाएको हो।

रोगलाई थप फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाएको छ। साथै, अनिवार्य अवस्थामा प्रवेश गर्नुपरेमा निसंक्रमण गरेर मात्र प्रवेश गर्नुपर्ने नियम लागू गरिएको जनाएको छ।

त्यसैगरी, पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ। मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न पनि सर्वसाधारणलाई सूचित गरिएको छ।

नगरपालिकाले कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा त्यस्ता घटना लुकाएर नराखी तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow