काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

 0  9
काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुटमा रथानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाका यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

उक्त बस राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन् भने तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन्। सीसीटिभी क्यामरा जडान हुने उक्त बसमा सुरक्षाका लागि नगर प्रहरी हुनेछन्।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ।सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नुपरेको छ। विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ। यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow