नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको व्यवसायी प्रशिक्षण एवं शान्ति सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

 0  28
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको व्यवसायी प्रशिक्षण एवं शान्ति सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

०३ जेठ, काठमाडौं ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको आयोजनामा गत वैशाख २ गते शनिबारका दिन ललितपुरको तिखेदेवलस्थित 'दरबार सेकुवा कर्नर' मा एक दिने "व्यवसायी प्रशिक्षण एवं शान्ति सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी" भव्यताका साथ सम्पन्न भएको छ। सुनचाँदी व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम दुई विशेष चरणमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको पहिलो सत्र पूर्ण रूपमा व्यावसायिक प्रशिक्षणमा केन्द्रित थियो। यस सत्रमा वर्तमान समयमा सुनचाँदी क्षेत्रमा भइरहेको बजार अनुगमन, सुनको आधिकारिक स्रोतको पहिचान तथा कानुनी प्रक्रिया र वर्तमान चुनौतीपूर्ण बजारमा एक 'सफल व्यवसायी' कसरी बन्न सकिन्छ भन्ने विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।

उक्त विषयमा मञ्चका महासचिव एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका बागमती प्रदेश अध्यक्ष हेम राईले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा व्यवसायीहरूले भोग्नुपरेका व्यावहारिक समस्या, राज्यको नीति नियम र व्यवसायलाई पारदर्शी एवं मर्यादित बनाउने उपायहरूका बारेमा प्रष्ट पारिएको थियो।

मञ्चका केन्द्रीय अध्यक्ष खेम तिरुवाज्यूको अध्यक्षतामा दोस्रो सत्र (शान्ति सुरक्षा सम्बन्धी कार्यक्रम) सम्पन्न भएको थियो। यस विशेष सत्रमा सुनचाँदी व्यवसाय र व्यवसायीहरूको सुरक्षा चुनौतीका विषयमा गहन छलफल र अन्तरक्रिया गरिएको थियो।

उक्त कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, ललितपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष अमृत जंग महत, अपराध अनुसन्धान महाशाखा टेकु, काठमाडौंका प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) राकेश कुमार थापा, समुदाय प्रहरी प्रमुख (तिखेदेवल) फुलकुमारी पौडेल तथा महासंघका बागमती प्रदेश अध्यक्ष हेम राईको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा मञ्चका कोषाध्यक्ष किशोर सेनचुरी, केन्द्रीय कार्यसमितिका सदस्यहरू नीरज शंकर, रमेश घिमिरे, रणजित शंकर एवं सल्लाहकार राजकुमार गहतराज लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सुरक्षा निकायका प्रतिनिधि तथा अतिथिहरूले सुनचाँदी व्यवसाय संवेदनशील रहेकाले सुरक्षा सतर्कता अपनाउनुपर्ने र कानुनी मापदण्ड पालना गरेर व्यवसाय गर्दा आइपर्ने समस्यामा राज्यले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मञ्चका प्रथम उपाध्यक्ष भूपेन्द्र राईले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि तथा व्यवसायीहरूलाई स्वागत गरे भने कार्यक्रमको सञ्चालन मञ्चका केन्द्रीय उपाध्यक्ष बीर बहादुर विश्वकर्माले गरेका थिए ।

कार्यक्रममा ललितपुर, कोटेश्वर, भक्तपुर लगायत काठमाडौं उपत्यका तथा वरपरका क्षेत्रका उल्लेख्य सुनचाँदी व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी व्यवसायीहरूले यस किसिमको प्रशिक्षणले व्यवसाय सञ्चालनमा सुरक्षा सजगता अपनाउन र कानुनी प्रक्रिया बुझ्न ठूलो मद्दत पुगेको बताउँदै कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow