अब दैनिक २५ किलो सुन आयात गर्न पाउने

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएर २५ किलो पुर्याएको छ । यसअघि दैनिक २० किलो मात्र आयात गर्न मिल्ने सुनको परिमाणलाई केन्द्रीय बैंकले बढाएर २५ किलो पुर्याएको हो ।
बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले अबदेखि २५ किलो आयात गर्नेछन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर गहना बनाएर बिक्री वितरण गर्ने गर्दछन्।
पछिल्लो समय सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुनतर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ। लगानीकर्ताका लागि तुलनात्मक रुपमा सुनको लगानी सुरक्षित हुने भएकाले पनि माग बढेको सुनचाँदी व्यवसायीहरू बताउने गरेका छन् । शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजारमा कारोबार भईरहेको छ ।
What's Your Reaction?






