जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने

काठमाडौं, २४ असोज । जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएका परीक्षा केन्द्रमा पुनः परीक्षा गरिने भएको छ ।
वार्षिक परीक्षा प्रणालीअन्तर्गत व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको गत भदौ २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाको उत्तरपुस्तिका जलेपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो ।
सम्बन्धित परीक्षा केन्द्र र क्याम्पसमार्फत विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने जानकारी दिइने बल्खुले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको छ ।
२२ गते र २३ गतेका परीक्षाहरुको उत्तरपुस्तिकाहरु सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो । जेनजी आन्दोलनमा चौकी समेत जलाएपछि उत्तरपुस्तिका पनि जलेका हुन् ।
What's Your Reaction?






