सुनचाँदी छेत्र सँग सम्बन्धित २ महत्वपूर्ण कार्यक्रम सम्पन्न
सुर्खेत | कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघको पाँचौँ साधारण सभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय महासचिव निरबहादुर विश्वकर्मा रहनुभएको थियो भने साधारण सभाको अध्यक्षता कर्णाली सुनचाँदी रत्न तथा आभूषण सङ्घका अध्यक्ष दिनेश विश्वकर्माले गर्नुभएको थियो।
साधारण सभामा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका सुनचाँदी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्या, चुनौती र अपेक्षाबारे धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरबहादुर विश्वकर्माले महासङ्घ सधैँ सुनचाँदी व्यवसायीहरूको हकहितको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो- “महासङ्घले सुनचाँदी व्यवसायीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग निरन्तर संवाद र संघर्ष गर्दै आएको छ। व्यवसायीहरूको पक्षमा नीतिगत सुधार, कर प्रणाली सहज बनाउने र व्यवसाय सुरक्षाका विषयमा महासङ्घ दृढ रूपमा उभिएको छ।” उहाँले सुनचाँदी तथा आभूषण व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न राज्यको सकारात्मक भूमिका आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।
कार्यक्रमका अध्यक्ष दिनेश विश्वकर्माले कर्णाली प्रदेशका सुनचाँदी व्यवसायीहरूको हकहितका लागि संघ निरन्तर क्रियाशील रहेको बताउँदै आगामी दिनमा पनि व्यवसायीहरूको अधिकार, सुरक्षा र व्यवसायमैत्री नीति निर्माणका लागि सङ्घ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यवसायीहरूलाई सङ्गठित, अनुशासित र कानुनी दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो।
प्रादेशिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न -
कर्णाली सुनचाँदी रत्न तथा आभूषण महासङ्घको समन्वयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रादेशिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मन्त्री सुरेश अधिकारीले सुनचाँदी व्यवसायीहरूले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने स्पष्ट गर्नुभयो। उहाँले सुनचाँदी तथा आभूषण व्यवसाय कर्णाली प्रदेशको आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै व्यवसायमैत्री नीति, कर प्रणाली तथा सुरक्षासम्बन्धी विषयमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका केन्द्रीय महासचिव निरबहादुर विश्वकर्माले सुनचाँदी व्यवसायीहरूले उठाएका मागहरूलाई सरकारले नजरअन्दाज गर्न नमिल्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीले सुनचाँदी, रत्न तथा आभूषणसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरूको मागलाई निरन्तर रूपमा सरकारसमक्ष अगाडि सारेका छौँ। सरकारसँग भएको १२ बुँदे समझदारी नयाँ सरकार गठन भएलगत्तै कार्यान्वयन गराउन महासङ्घले विशेष दबाब सिर्जना गर्नेछ।”
उहाँले सुनचाँदी व्यवसायीहरूको हक–हित, व्यवसायिक सुरक्षा, कर प्रणालीको सुधार तथा नीति निर्माणमा महासङ्घ सधैँ अग्रपङ्क्तिमा रहेर काम गरिरहेको पनि उल्लेख गर्नुभयो।
What's Your Reaction?





