पूर्वी चितवनका कृषकका लागि राहत : प्रयोगविहीन जेसीबी सञ्चालनमा ल्याइने – मन्त्री विराजभक्त श्रेष्ठ
३० असार, चितवन। पूर्वी चितवनका कृषकका लागि राहत पुग्ने भएको छ। पिठुवा सिँचाइ आयोजनाका लागि वर्षौंअघि खरिद गरिएको तर लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जेसीबी किसानको हितमा सञ्चालनमा ल्याइने भएको जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आज प्रतिनिधिसभा सदस्य हरी ढकाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता दीपक गौतमले उक्त जेसीबी प्रयोगमा नआउँदा कृषकहरूले आवश्यक सेवा पाउन नसकेको विषयमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। त्यसपछि भएको छलफलमा मन्त्री श्रेष्ठले जेसीबीको चाबी हस्तान्तरण गरी किसानको हितमा तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेका हुन्।
त्यसैगरी, राप्ती नगरपालिका वडा नं. १० देखि १३ सम्म सञ्चालन भइरहेको विद्युतीकरण कार्यका लागि आवश्यक सामग्री टाँडी वितरण केन्द्रमा तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्।
यससँगै राप्ती नगरपालिकाका पहाडी वडाहरूमा लिफ्ट सिँचाइ आयोजना अघि बढाउने प्रक्रिया सुरु गरी आवश्यक बजेट व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठले सार्वजनिक स्रोत–साधन जनताको सेवाका लागि प्रभावकारी रूपमा उपयोग हुनुपर्नेमा जोड दिँदै जनताका व्यावहारिक समस्या समाधान तथा परिणाममुखी सेवा प्रवाहका लागि मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।
What's Your Reaction?





