बाढीबाट प्रभावित सुनचाँदी व्यवसायीहरूको स्थलगत अवस्था सार्वजनिक

 0  20
बाढीबाट प्रभावित सुनचाँदी व्यवसायीहरूको स्थलगत अवस्था सार्वजनिक

केशव बहादुर सुनारको फिल्ड रिपोर्ट

नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीको प्रभावबाट सुनचाँदी व्यवसायीहरू पनि अछुतो रहन सकेनन्। बाढीबाट प्रभावित सुनचाँदी व्यवसायीहरूको वास्तविक अवस्था बुझ्न नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष केशव बहादुर सुनारको नेतृत्वमा संघको कार्यसमितिको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण तथा निरीक्षण गरी प्रारम्भिक फिल्ड रिपोर्ट तयार गरेको छ।

टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुका साथै बाढीबाट प्रभावित सुनचाँदी व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरेको थियो। भेटघाटका क्रममा व्यवसायीहरूले भोग्नुपरेको पीडा, पसल तथा व्यवसायमा पुगेको क्षति, भौतिक संरचनाको अवस्था तथा तत्काल आवश्यक सहयोगका विषयमा जानकारी लिइएको थियो।

स्थलगत निरीक्षणका क्रममा बाढीबाट भएको क्षतिको प्रारम्भिक तथ्यांक तथा विवरणसमेत संकलन गरिएको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार:

टिमुरे बजारमा १ वटा सुनचाँदी पसल पूर्ण रूपमा बाढीबाट बगाएको पाइएको छ।
बेत्रावतीमा १ वटा सुनचाँदी पसल बाढीबाट बगाएको पाइएको छ।
त्रिशूलीमा १८ वटा सुनचाँदी पसल, २ वटा सुनचाँदी रिफाइनरी सेन्टर तथा ३ वटा सुनचाँदीसम्बन्धी कारखाना पूर्ण रूपमा बाढीबाट बगाएको पाइएको छ।
ढुंगे बजारमा १ वटा सुनचाँदी पसल बाढीबाट बगाएको पाइएको छ।
देवीघाटमा २ वटा सुनचाँदी पसल पूर्ण रूपमा बाढीबाट बगाएको पाइएको छ।

यस प्रारम्भिक विवरणअनुसार बाढीका कारण प्रभावित सुनचाँदी व्यवसायीहरूको पसल, मेसिनरी, उपकरण, कच्चा पदार्थ तथा अन्य भौतिक सम्पत्तिमा पूर्ण रूपमा क्षति पुगेको देखिएको छ।

प्रभावित पसलमध्ये ३ वटा सुनचाँदी पसल नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नुवाकोट शाखासँग आबद्ध रहेका छन् भने अन्य अधिकांश व्यवसायीहरू सुनचाँदी व्यवसायी संघ नेपालमा आबद्ध रहेको जानकारी प्राप्त भएको छ।

 (सुनार नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष हुन्) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow