भारतीय जनता पार्टीको निमन्त्रणामा रवि लामिछाने नयाँ दिल्लीमा
१८ जेठ, नयाँ दिल्ली। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत प्रस्थान गर्नुभएका सभापति लामिछानेसहितको टोलीलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको हो।
नयाँ दिल्ली भ्रमणका क्रममा सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय जनता पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, राजनीतिक अनुभव आदान–प्रदान, लोकतान्त्रिक अभ्यास, पार्टी सञ्चालन प्रणाली तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय अन्तर्राष्ट्रिय राजनीतिक दलहरूसँग संवाद र सम्बन्ध विस्तारलाई प्राथमिकता दिँदै आएको छ। सोही क्रममा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका वरिष्ठ नेताले विमानस्थलमै स्वागत गर्नुले भ्रमणलाई औपचारिक र महत्त्वपूर्ण बनाएको राजनीतिक वृत्तमा चर्चा छ। भ्रमण अवधिमा हुने भेटवार्ता र छलफलले दुई पार्टीबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
What's Your Reaction?





