रत्न महासंघको ‘एक व्यवसायी, एक हजार’ अभियान भदौ ३० गतेसम्म एकै दिन तीन संघसंस्थाबाट महासंघको राहत कोषमा रकम जम्मा

 0  33
रत्न महासंघको ‘एक व्यवसायी, एक हजार’ अभियान भदौ ३० गतेसम्म एकै दिन तीन संघसंस्थाबाट महासंघको राहत कोषमा रकम जम्मा

२६ भदौ, काठमाडौं । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले बाढी तथा पहिरो प्रभावित नागरिकको सहयोगार्थ सञ्चालन गरेको ‘एक व्यवसायी, एक हजार’ अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने भएको छ।

महासंघका पदाधिकारीहरूको हिजो बसेको भर्चुअल बैठकले अभियानको अवधि थप गर्ने निर्णय गरेको हो। महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकन्द्रीका अनुसार सहयोग संकलन कार्य व्यापक रूपमा अघि बढिरहेको तथा महासंघसँग आबद्ध संघसंस्थाहरूको विशेष अनुरोधलाई समेत ध्यानमा राख्दै अभियानको अवधि थप गरिएको हो।

यसैबीच, अभियानअन्तर्गत भदौ २५ गते महासंघको कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न संघसंस्थाले महासंघको राहत कोषमा सहयोग रकम हस्तान्तरण गरेका छन्।

आभूषण महासंघ बागमती प्रदेशबाट रु. १,०१,१११ सहयोग

कार्यक्रममा आभूषण महासंघ बागमती प्रदेशका तर्फबाट संकलित रु. १,०१,१११ सहयोग रकम प्रदेश अध्यक्ष हेम राईले महासंघका प्रथम उपाध्यक्ष द्वारिकाशंकरलाई हस्तान्तरण गरे।

उक्त रकम प्रदेश समितिको कार्यसमितिबाट स्वतःस्फूर्त रूपमा संकलन गरिएको जनाइएको छ।

रकम हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका उपाध्यक्ष हरि दियाली, महासचिव बालकुमार दर्नाल, सचिव रामकृष्ण सुनार, कोषाध्यक्ष पूर्णप्रसाद कोइराला, सदस्य विष्णु खातीलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चबाट रु. २,२२,२२२

त्यस्तै, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका तर्फबाट बाढीपीडितको राहतका लागि संकलित रु. २,२२,२२२ रकम मञ्चका अध्यक्ष खेम तिरुवाले महासंघलाई हस्तान्तरण गरे।

मञ्चमा हाल महासंघमा दर्ता भएका २१८ जना सदस्य रहेको र मञ्चका तर्फबाट अभियानमा कुल रु. २,२२,२२२ सहयोग गरिएको जानकारी दिइएको छ। यो रकम महासंघले आह्वान गरेको ‘एक व्यवसायी, एक हजार’ अभियानअन्तर्गत तोकिएको रकमभन्दा बढी हो।

रकम हस्तान्तरण गर्दै अध्यक्ष तिरुवाले देशमा आइपर्ने विपद् होस् वा कुनै पनि सुनचाँदी व्यवसायीलाई परेको पीरमर्का, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सदैव महासंघसँग सहकार्य गर्न तयार रहेको बताए।

कार्यक्रममा मञ्चका उपाध्यक्ष बिर बहादुर विश्वकर्मा, कोषाध्यक्ष किशोर सेन्चुरी, कार्यसमिति सदस्यहरू नीरजशंकर, रमेश घिमिरे, विश्वासशंकर, रञ्जितशंकर तथा कार्यालय सचिव अनिश दर्नाललगायतको उपस्थिति रहेको थियो।

रत्न संघ नेपालबाट रु. १,०१,११५ सहयोग

यसैगरी, रत्न संघ नेपालले पनि बाढीपीडितको सहयोगार्थ रु. १,०१,११५ रकम महासंघको राहत कोषमा सहयोग गरेको छ। उक्त रकम संघका अध्यक्ष कृष्ण हमालले हस्तान्तरण गरेका हुन्।

रत्न संघ नेपालका महासचिव पूर्णप्रसाद कोइरालाका अनुसार संघमा हाल करिब ८० जना सदस्य रहेका छन्। संघले महासंघले तोकेको जिम्मेवारीभन्दा बढी रकम संकलन गरी सहयोग गरेको र आवश्यकता परेमा थप सहयोगका लागि समेत आफूहरू तयार रहेको बताए।

पूर्वी चितवन महिला शाखाबाट करिब ६४ हजार सहयोग

यसैबीच, सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन महिला शाखाले तीजका लागि संकलन गरेको  करिब रु. ६४ हजार महासंघको राहत कोषमा जम्मा गर्ने भएको छ।

देश विपद्मा परेको अवस्थामा  देशप्रतिको आफ्नो दायित्व सम्झेर तीजका लागि संकलित रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराउने निर्णय गरिएको संघका प्रथम उपाध्यक्ष एवं प्रदेश सचिव रामकृष्ण सुनारले जानकारी दिए।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिकाशंकर, सचिव केशर सेन्चुरी, कोषाध्यक्ष गणेशप्रसाद लकन्द्री, केन्द्रीय कार्यसमिति सदस्य एवं विपद् व्यवस्थापन समितिका संयोजक त्रिलोचन विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन गर्दै महासंघका महासचिव विमल धमलाले विपद्को यस घडीमा सुनचाँदी क्षेत्रबाट प्राप्त भइरहेको एकता र सहयोगप्रति विशेष आभार व्यक्त गरे। महासंघका अध्यक्ष किसान सुनारले अनलाइनमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

महासंघले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको अभियानमा देशभरका सुनचाँदी, रत्न तथा आभूषण व्यवसायी, संघसंस्था तथा समाजसेवीहरूलाई सहभागी हुन निरन्तर आह्वान गर्दै आएको छ।

‘एक व्यवसायी, एक हजार’ अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने महासंघले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow