सुनचाँदी महासंघ अध्यक्ष अर्जुन रसाइलीलाई निर्णयको कानुनी आधार सार्वजनिक गर्न महेन्द्ररत्न शाक्यको चुनौती

 0  5
सुनचाँदी महासंघ अध्यक्ष अर्जुन रसाइलीलाई निर्णयको कानुनी आधार सार्वजनिक गर्न महेन्द्ररत्न शाक्यको चुनौती

काठमाडौँ, १ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रको सदस्यता खारेज गर्ने निर्णय गरेपछि दुई संस्थाबीचको विवाद थप चर्किएको छ। महासंघको निर्णयले केन्द्रको कानुनी अस्तित्व, संगठन विस्तार तथा संस्थागत गतिविधिमा कुनै असर नपर्ने केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्यले दाबी गरेका छन्।

शाक्यले महासंघको सदस्यता खारेजीको निर्णयप्रति प्रश्न उठाउँदै केन्द्र आफ्नो कानुनी हैसियत र संस्थागत गतिविधिसहित निरन्तर अघि बढ्ने बताएका छन्। उनका अनुसार महासंघ स्थापना प्रक्रियामा केन्द्रको महत्वपूर्ण संस्थापक भूमिका रहेकाले अहिले आएर केन्द्रकै सदस्यता खारेज गर्ने निर्णय तर्कसंगत नभएको दाबी छ।

उनले महासंघका अध्यक्ष अर्जुन रसाइलीलाई केन्द्रको सदस्यता खारेज गर्ने निर्णयको कानुनी तथा कागजी आधार सार्वजनिक गर्न चुनौती दिएका छन्। महासंघले कुन कानुनी प्रावधान र प्रक्रियाका आधारमा यस्तो निर्णय गरेको हो भन्ने स्पष्ट पार्नुपर्ने शाक्यको भनाइ छ।

शाक्यले महासंघ र केन्द्रबीचको सम्बन्धलाई संस्थागत इतिहाससँग जोड्दै वर्तमान नेतृत्वले केन्द्रको योगदानलाई बेवास्ता गरेको आरोपसमेत लगाए। उनका अनुसार व्यवसायीको हकहित र व्यवसायिक विकासका विषयलाई प्राथमिकता दिनुपर्ने महासंघ नेतृत्व अनावश्यक राजनीति र गुटबन्दीमा अल्झिएको छ।

उनले महासंघ नेतृत्वलाई आन्तरिक विवाद र गुटबन्दीमा समय खर्चिनुभन्दा व्यवसायीका वास्तविक समस्या तथा व्यवसायिक विकासका एजेण्डामा केन्द्रित हुन आग्रह गरेका छन्। केन्द्रले अघि सारेका व्यवसायी हितका कार्यक्रम तथा अनुभवबाट सिकेर महासंघले पनि आफ्नो गतिविधि अघि बढाउनुपर्ने उनको धारणा छ।

शाक्यका अनुसार महासंघको सदस्यता खारेजीको निर्णयले केन्द्रको संगठन विस्तार, संस्थागत काम तथा आगामी गतिविधिमा कुनै प्रभाव पर्ने छैन। केन्द्रले व्यवसायीको हकहित र व्यवसायिक विकासका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना गतिविधि निरन्तर अघि बढाउने उनले बताएका छन्।

महासंघको निर्णय र केन्द्रको आपत्तिबीच विवाद थप सार्वजनिक भएपछि दुवै संस्थाबीचको सम्बन्ध आगामी दिनमा कसरी अघि बढ्छ भन्ने विषय चासोको बनेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow