रिटर्नीले भव्य रुपमा मनायो स्थापना दिवस
खेम कार्की
काठमाडौं, १७ पुस । रिटर्नी फेडेरेसन नेपालले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । फेडेरेसनको चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उद्यमीहरुलाई सम्मानित गरेको छ । काठमाडौं थापागाँउस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको स्थापना दिवसको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा कोशी प्रदेशबाट झापाका दीपक चापागाईँ, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बिनी प्रदेशबाट गुल्मीका रविलाल पन्त, गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री र कर्णाली प्रदेश दैलेखबाट राम बहादुर बडुवाल रहेका छन ।
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका इन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उद्यमशीलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए । एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलिका दिनमा देशको नेतृत्वमा रिटर्नीहरुले प्रतिनिधित्व गर्ने गरी अगाडि बढ्नु पर्ने बताए । राजनीतिक नेतृत्व र आगामी परिवर्तनको संवाहकको रुपमा रिटर्नीहरु हस्तक्षेपकारी ढङ्गले अगाडि बढ्न र अध्ययनशील समेत हुनुपर्नेमा जोड दिए ।
फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सम्मान एउटा साङ्केतिक सुरुवात मात्र भएकोले आगामी दिनमा रिटर्नीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम देशभरि फैलाउने बताए । ६३ जिल्लामा फैलिएको सङ्गठन बाकि जिल्लाहरूमा पनि फैलाएर देशव्यापी बनाउन स्थापना दिवसले प्रेरणा दिओस् भन्ने शुभकामना दिए । चौथो स्थापना दिवसको दिनसम्म सङ्गठन निर्माणमा साथ दिने सबैलाई धन्यवाद दिदैँ यो अधिवेशन वर्षमा पालिका देखि केन्द्रसम्म सङ्गठन विस्तार पनि गर्ने र कार्यक्रम भएका ठाउँहरूमा समेत रिटर्नी उधमीहरुलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम अगाडि बढाउने सिलसिला जारी रहने पनि जानकारी दिए ।
रिटर्नी फेडेरेसन नेपाल-कास्की जिल्ला कमिटीको आयोजनामा रिटर्नी फेडेरेसन नेपालको चौथो स्थापना दिवस नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल स्मृति पार्क पोखरा- ७ मा सरसफाइ कार्यक्रम र जिल्ला पाटी कार्यलय कास्कीमा केक काटी सम्पन्न गरियो ।कार्यक्रममा कास्की जिल्ला अध्यक्ष बिश्वज्योती सुवेदी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा,रिटर्नी फेडेरेसन नेपालका संस्थापक अध्यक्ष चन्द्र बाहदुर रोकाह सङ्गठनका केन्द्रीय उपाध्यक्ष,सचिव , स्थाई कमिटी सदस्य ,प्रदेश कमिटी अध्यक्ष आदिको उपस्थिति रहेको थियो |
कोशी प्रदेश झापामा स्थापना दिवस मनाउदैं बुद्धशान्ति गाउँपालिकामा भास्कर गडतौलाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
त्यसैगरी नवलपरासीमा धिरज खरेलको अध्यक्षतामा नया कार्यसमित चयन गरेको । यसैगरि फेडेरेसनको स्थापना दिवसको अवसरमा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गरिएको बताइएको छ ।
What's Your Reaction?