विश्वभर धनाढ्यहरूको बसाइँसराइ बढ्दो, युएई सबैभन्दा रोजाइको गन्तव्य
०४ असार ,काठमाडौं । विश्वभरका उच्च सम्पत्ति भएका व्यक्तिहरू (मिलियनेयर) बीच विदेश बसाइँसराइको प्रवृत्ति तीव्र रूपमा बढिरहेको देखिएको छ। ‘हेन्ली प्राइभेट वेल्थ माइग्रेसन रिपोर्ट २०२६’ ले यस वर्ष करिब १ लाख ६५ हजार मिलियनेयरले आफ्नो बसोबास अर्को देशमा सार्ने अनुमान गरेको छ, जुन अहिलेसम्मकै उच्च संख्या हो।
रिपोर्टअनुसार गत वर्ष सन् २०२५ मा १ लाख ४२ हजार धनाढ्य व्यक्तिले देश परिवर्तन गरेका थिए। पछिल्लो एक दशकमा यस्तो प्रवृत्तिमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। सन् २०१३ मा मात्र ५१ हजार मिलियनेयरले बसाइँ सरेका थिए भने सन् २०२४ सम्म आइपुग्दा यो संख्या १ लाख ३४ हजार पुगेको थियो।
विशेषज्ञहरूका अनुसार अहिले धनी वर्गको विदेश बसाइँसराइ केवल करको लाभका लागि मात्र सीमित छैन। राजनीतिक स्थायित्व, व्यक्तिगत सुरक्षा, उच्च जीवनस्तर, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा आकर्षक लगानी वातावरण जस्ता कारणले पनि उनीहरू नयाँ गन्तव्यको खोजीमा छन्।
धनी व्यक्तिहरूलाई आकर्षित गर्ने मुलुकहरूको सूचीमा संयुक्त अरब इमिरेट्स (युएई) अग्रस्थानमा रहेको छ। रिपोर्टले युएईलाई ८५.३ अंक प्रदान गर्दै विश्वकै सबैभन्दा आकर्षक गन्तव्यका रूपमा चित्रित गरेको छ। यता भारतले ५६.५ अंक प्राप्त गरेको उल्लेख गरिएको छ।
विश्वव्यापी आर्थिक तथा सामाजिक परिवेशमा आएको परिवर्तनसँगै उच्च आय भएका व्यक्तिहरूको अन्तरदेशीय बसाइँसराइ आगामी वर्षहरूमा अझ बढ्ने अपेक्षा गरिएको छ।
What's Your Reaction?





