सना युसुफको हत्या अभियोगमा अभियुक्त उम्मर हयातलाई मृत्युदण्ड

 0  7
सना युसुफको हत्या अभियोगमा अभियुक्त उम्मर हयातलाई मृत्युदण्ड

०६ बैसाख ०८३|पाकिस्तान | इस्लामाबादको एक अदालतले सामाजिक सञ्जालमा चर्चित इन्फ्लुएन्सर सना युसुफको हत्या अभियोगमा अभियुक्त उम्मर हयातलाई मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ। अदालतले अभियुक्तलाई योजनाबद्ध रूपमा हत्या गरेको ठहर गर्दै कडा फैसला सुनाएको हो।

प्रहरीका अनुसार सना युसुफ पछिल्लो समय टिकटक, इन्स्टाग्राम तथा अन्य सामाजिक सञ्जालमार्फत निकै लोकप्रिय बनेकी थिइन्। उनी विशेषगरी युवापुस्तामाझ फेसन, जीवनशैली र भिडियो सामग्रीका कारण चर्चित थिइन्। घटनापछि पाकिस्तानभर सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।

अनुसन्धानका क्रममा अभियुक्त उमर हयातले सनालाई लामो समयदेखि पछ्याइरहेको र व्यक्तिगत सम्बन्धको विवादपछि हत्या भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिएको थियो। अभियोजन पक्षले अदालतमा पेश गरेको प्रमाण, डिजिटल रेकर्ड, प्रत्यक्षदर्शीको बयान तथा प्राविधिक अनुसन्धानका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको जनाएको छ।

फैसलासँगै अदालतले पीडित परिवारलाई न्याय दिलाउने उद्देश्यले कडा सजाय आवश्यक रहेको उल्लेख गरेको छ। पाकिस्तानमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालसँग सम्बन्धित महिला इन्फ्लुएन्सरहरूमाथि हुने हिंसा, धम्की र ‘अनर’सँग जोडिएका अपराधका घटनाले पुनः बहस चर्काएको छ। मानवअधिकारकर्मीहरूले यस घटनालाई महिलामाथिको डिजिटल तथा सामाजिक हिंसाको गम्भीर उदाहरणका रूपमा व्याख्या गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow