वायु प्रदूषण बढेसँगै काठमाडौं प्रदूषित शहरको नवौँ स्थानमा पुग्यो
काठमाडौं, २५ माघ । काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेको छ । आज बिहान विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको काठमाडौं अहिले दिउँसो सम्ममा नवौँ स्थानमा पुगेको छ।
हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स का अनुसार आइबार दिउँसोको मापनअनुसार उपत्यकाको वायु प्रदूषण १५१ एक्युआई पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर, ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।
वातावरण विभागका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो। पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।
आज विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको इजिप्टको कायरोमा वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।
What's Your Reaction?





