सही समाचार संप्रेषण गर्न सञ्चारमाध्यामहरुलाई सञ्चारमन्त्री खरेलको आग्रह
काठमाडौं, २३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला सञ्चारमन्त्री जगदीश खरेलले आफूले चुनाव लड्नेबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।
पत्रकार महासंघको भक्तपुर शाखाले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अहिले आफ्नो र सरकारको ध्यान चुनाव गराउनमा केन्द्रित रहेको भन्दै मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचार संप्रेषण गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरे ।
उनले भने,‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन, आउछु पनि भनेको छैन, जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन र मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ । आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठदिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आईरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहीँ आज म तपाईहरुमार्फत भन्छु मैले चुनाव उठने अथवा नउठने निर्णय गरेको छैन ।’
What's Your Reaction?





