सिँचाइ र कृषि कार्यक्रम एकीकृत रूपमा अघि बढाउने तयारी हुँदै : मन्त्री विराज भक्त श्रेष्ठ

 0  12
सिँचाइ र कृषि कार्यक्रम एकीकृत रूपमा अघि बढाउने तयारी हुँदै : मन्त्री विराज भक्त श्रेष्ठ

२३ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरेका छन्। किसानको खेतसम्म सिँचाइ सुविधा पुर्‍याएपछि उत्पादन, प्राविधिक सेवा तथा कृषि उपजको बजारीकरणलाई समेत सँगसँगै लैजानुपर्ने निष्कर्षसहित दुवै मन्त्रालयले आपसी समन्वयलाई थप प्रभावकारी बनाउने भएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता कुमारी यादव (चौधरी) बीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, कृषि उत्पादन, सेवा प्रवाह तथा बजारीकरणलाई एउटै योजनाअन्तर्गत सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा मन्त्री श्रेष्ठले सरकारले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्न ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा तथा कृषि उपजको प्रभावकारी बजारीकरण सुनिश्चित हुन सके मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने बताउनुभयो। उहाँले सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट तथा कार्यान्वयन तहसम्म समन्वयलाई थप सुदृढ बनाइने बताउनुभयो।

यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गर्नुभएको थियो। उहाँले रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणाली लगायतका आयोजनाको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख तथा प्राविधिकहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। सो क्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती तथा किसानका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिइएको थियो।

बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजना ले जिल्लाका छ स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। त्यस्तै कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना बाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ।

यस्तै, बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना ले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको छ। यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ भने मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय तथा लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानहरूले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन्।

सरकारका अनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन तथा उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ हुने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले सिँचाइ आयोजनालाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार तथा ग्रामीण समृद्धिको आधारका रूपमा विकास गरिरहेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow