सुनचाँदी व्यवसायी मञ्चको स्थापना दिवसमा अन्तरसंघस्तरीय फुटसल प्रतियोगिता हुने
१३ जेठ, काठमाडौँ। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले आफ्नो १०औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ। स्थापना दिवसको अवसरमा मञ्चले सुनचाँदी क्षेत्रका संघ–संस्थाबीच अन्तरसंघस्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो।
मञ्चका अनुसार प्रतियोगिता ३० जेठ २०८३, शनिबार काठमाडौँको हाँडीगाउँस्थित धनतरी फुटसल ग्राउण्डमा बिहान ९ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सुनचाँदी क्षेत्रसँग आबद्ध संघ–संस्थाले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टिममा ८ जना खेलाडी र २ जना अफिसियल गरी जम्मा १० जना सहभागी रहने व्यवस्था गरिएको छ। खेल फुटसलको पूर्ण नियमअनुसार सञ्चालन गरिने मञ्चले जनाएको छ।
प्रतियोगितामा सहभागिता शुल्क प्रति टिम सात हजार तोकिएको छ। खेलाडीका लागि स्पष्ट नाम र फोटो भएको परिचयपत्र, व्यवसायी पान नम्बर, आबद्ध संस्थाको प्रमाणपत्र तथा संस्थागत सिफारिस पत्र अनिवार्य गरिएको छ। साथै, सहभागी टिमका लागि संस्थाको जर्सी अनिवार्य गरिएको छ।
मञ्चका अनुसार खेल तालिका २० जेठ, बुधबार दिनको ठीक २ बजे मञ्चको केन्द्रीय कार्यालयमा प्रकाशित गरिनेछ। इच्छुक संस्थाका प्रतिनिधिले सो कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।
सहभागी हुन चाहने संस्थाले १८ जेठ, सोमबारभित्र आफ्नो संस्थाको टिम दर्ता गरिसक्नुपर्ने मञ्चले जनाएको छ।
What's Your Reaction?





