आफ्नै रेकर्ड तोड्दै कामिरिता पुगे ३१औँ पटक सगरमाथामा
काठमाडौं, १३ जेठ । सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका नेपालका कामिरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै ३१औँ पटक सगरमाथा आरोहण गरेका छन् ।
कामिरिताले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा ३१औँ पटक पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन्। गत वर्ष कामिरिताले ०८१ वैशाख ३० गते २९औँ पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३०औँ पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । पहिलोपटक उनले २४ वर्षको उमेरमा २०५१ सालमा सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
What's Your Reaction?





