कोरोना सङ्क्रमणबाट भारतमा १२ जनाको मृत्यु
काठमाडौं, १४ जेठ । भारतमा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारतमा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोभिड–१९ को चार नयाँ भेरियन्ट देखिएको छ । जसमा एलएफ. सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार केरला राज्यमा सबैभन्दा धेरै अर्थात ४३० जना सङ्क्रमित देखिएका छन् भने कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । साथै गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन् ।
उत्तर प्रदेशको फिरोजाबादमा मङ्गलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो । यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या १२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
What's Your Reaction?





