काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

 0  27
काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं, ७ जेठ । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण अहिले काठमाडौं लगायत देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।

बाहिरबाट आएको प्रणाली र स्थानीय प्रणाली मर्ज हुँदा पानी पार्ने प्रणाली विकास हुँदा देशभरका धेरै स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौंमा गए राति र बिहान पनि वर्षा भएको थियो । बिहान अबेरबाट भने केही समय मौसम सफा भएपछि पुनः वर्षा सुरु भएको हो । “सुदूरपश्चिमबाट वर्षा गराउँदै आएको प्रणाली काठमाडौं आइपुगेको छ,” मौसमविद् विनु महर्जन भन्छिन्, “काठमाडौंको उत्तरी क्षेत्रबाट वर्षा सुरु भएको छ ।” काठमाडौंका अन्य क्षेत्रमा पनि अब वर्षा हुने उनको भनाइ छ । तर, हल्का वर्षा हुने उनी बताउँछिन् ।

विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जानकारी दिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow