गुरुङ समुदायले 'तमु ल्होसार' मनाउँदै (तस्बिरसहित)
काठमाडौं, १५ पुस । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले आज धूमधामका साथ 'तमु ल्होसार' पर्व मनाई रहेका छन् ।
तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गर्छन् ।
तमु ल्होसारका अवसरमा गुरुङ समुदायले आफ्नो सांस्कृतिक पहिचानसहित झाँकी र जुलुस निकालेर टुँडिखेल पुगेर कार्यक्रम गरेका छन् । तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
(तस्बिर : नेपाल फोटो लाइब्रेरी)
What's Your Reaction?





